आत्मकथा

पल्लो घर को आइमाई 
जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ
...
लामो अन्तरालपछि आज व्यस्त पुतलीसडकमा उसलाई देख्दा एउटा अनौठो तरंग शरीरभरि नै व्याप्त भयो। मलाई देखेर उसमा एक किसिमको लाली चढ्यो, उसका ओठ खुल्दै गए। उनको त्यो मुस्कानले मलाई त्यसरी नै डुबाइदियो जसरी पहिले म डुब्न गर्थे - उसको सौन्दर्यको दीपिकामा।

मैले एकछिन उसलाई टोलाएर हेरेँ। मलाई ऊ बोल्न खोजेझैं लाग्यो। तर ऊ बोलिन, म पनि बोलिनँ। ऊ जतातिरबाट आउँदै थिई म त्यतैतिर जाँदै थिएँ। आमनेसामने उभिएर हामीले एकअर्कालाई हेरिरह्यौं। कति बेरपछि हो कुन्नि, एउटी सानी केटी आई र उसलाई भनी, ...मामु, छिटो जाऊँ न!'
मेरा आँखा विस्थापित भए, उसको छोरीतर्फ।
ऊ छोरीलाई डोराउँदै मेरो छेउबाट बिस्तारै अघि बढी। लाग्थ्यो, उसलाई आफ्ना पाइला बढाउन गाह्रो भइरहेको थियो। मैले फर्केर ऊतिर हेरेँ, उसले पनि मलाई नै हेरिरहेकी थिई। निकै टाढा पुग्दासम्म मैले उसलाई हेरिरहेँ, उसले पनि मलाई फकर्िंदै हेर्दै गरिरही।
दृष्टिपटलबाट ऊ ओझेल भएपछि म स्तब्ध भएर हिँड्न थालँे। मस्तिष्क सुन्य थियो, शरीरमा गेयता हराएको थियो। धेरै पछि पो मलाई थाहा भयो - म अफिस हिँडेको मान्छे सिधै घरमा गएर ओछ्यानमा पल्टिन पुगेछु।
......................
चार वर्षअघि म कलेजको प्रथम वर्षमा हुँदा उसलाई पहिलो पटक देखेको थिएँ। ऊ र उसको पति हाम्रो घरछेउकै घरमा भाडामा बस्न आएका थिए। उनीहरू शिक्षित र सम्भ्रान्त देखिन्थे। उसको पतिले राम्रै ठाउँमा रोजगार पाएको हुनुपर्छ किनकि ऊ आफ्नो मोटरसाइकलमा आवतजावत गर्थ्यो र उनीहरूको आम्दानी पनि राम्रै हुनुपर्छ, दुई जनाको परिवारले एउटा सिंगो फ्ल्याट लिएर बसेको थियो। बिदाको दिनबाहेक उसको पति घरमा बस्दैनथ्यो। ऊ दिनभरिजसो नै घरमा हुन्थी। मैले उसको आँखा र ओठमा तृप्तिको यस्तो चमक देेखेको थिएँ जो विरलै मान्छेमा देख्न पाइन्छ त्यसैले मलाई लाग्छ उनीहरूको जीवन परिपूर्ण थियो।
ऊ एकदमै राम्री थिई त भन्न मिल्दैन तर हाँस्दा दुईतिर गालामा पर्ने खाल्टो र हल्का खैरो रंगको आँखाको दीप्ति जो कोहीलाई बेकाबु गर्न पर्याप्त थियो। जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसकोे हेराइमा हराउन थालेँ। कस्तो सम्बन्धको कल्पनामा म थिएँ, थाहा छैन, उसमा मप्रतिको सोेचाइ कस्तो थियो थाहा छैन, तर म दावाका साथ भन्न सक्छु मैले एउटी स्त्री र पुरुषबीचको आकर्षणको सम्बन्धबारे सोचेको थिइनँ। र, मलाई पूर्ण विश्वास छ उसले पनि मलाई आकर्षणको भावले हेरेकी थिइन किनकि ऊ प्रेमको पूर्णाहुति गरेर परिणयको सूत्रमा बाँधिएको नवविवाहिता थिई। म ऊभन्दा कैयौं वर्षले कान्छो, ठेट्नो।
उसलाई हेर्ने लोभले मलाई त्यतिबेला यतिबिघ्न पागल बनाएको थियो कि म हरेक साँझ उसको पछिपछि झोला बोकेर तरकारी बजारतर्फ आफ्नो पाइला बढाउँथेँ। मैले कहिल्यै तरकारी किनमेल गर्ने गरेको थिएन - घरमा सबै छक्क परे। एकदिन त अचाक्ली नै भयो। कहिल्यै मुला नखाने मैले आफैले मुला किनेर ल्याएँ, घरमा सबै चकित भए। म आफैं पनि निकै छक्क परेँ। एकदिन उसले मुला किन्दै गरेको मैले हेरिरहेको थिएँ। सायद अर्धचेतन अवस्थामा मुला किन्न पुगेको छु।
ममा बहुलठीपन बढ्दै गयो। म धार्मिक बन्दै मन्दिर जान थालेँ, उसलाई देख्न पाइन्छ कि भनेर। सधैं टिभी हेरेर दिन बिताउने म झ्यालमा बसेर पल्लो घरको ठोकामा आफ्नो नजर दौडाउन थालेँ। हरदिन, हरसमय मेरा नयनले उसैलाई खोजिरहेका हुन्थे तर मेरा ओठले यो भावलाई कहिल्यै प्रकट गरेनन्। सिधै उसको मुहारमा मैले कहिल्यै हेरिनँ पनि। बरु उसले पो मलाई सिधै अगाडिबाट हेरिदिन्थी, मलाई असजिलो महसुस हुन्थ्यो, यताउता हेर्ने कोसिस गर्थें। केही बेरपछि आँखाको कुनाबाट उसलाई हेर्दा उसले उसरी नै हेरिरहेको पाउँथेँ। अनि धेरै बेरपछि ऊ यस्तो मुस्कानले मलाई आक्रमण गरेर जान्थी जसको पीडाबाट मुक्ति पाउन मलाई घन्टौं लाग्थ्यो। तथापि त्यही दिनचर्याले रोजिन्दा नयाँ-नयाँ कोणबाट लोभ्याँउथ्यो।
यो छटपटाहट र उकुसमुकुसलाई मनमस्तिष्कमा मैले धेरै दिन दबाएर राख्न सकिनँ। तिनलाई एक दिन मैले मेरो काकाको छोरासमक्ष खोलेँ। उहाँ नाताले दाजु भए पनि मसँगै साथीको व्यवहार गर्नुहुन्थ्यो। उहाँले मैले भोगिरहेको मानसिक तनाव एक सामान्य अनुभव हो, जीवनमा घट्ने यस्तै किसिमका अनुभूतिले नै जीवनलाई जिउनयोग्य बनाउँछ भन्नुभयो। म मनमनै खुसी भएँ। तर तुरुन्तै उहाँले भन्नुभयो, ‘प्रेमको त्यो फूललाई टाढैबाट हेर्नू, स्पर्शको अभिलाषा लिएर नजिक नजानू।' उहाँको कुरा सुनेर ममा पीडा भयो। मलाई लाग्यो, उहाँले ममा उमि्रएका भावलाई राम्ररी बुझ्न सक्नुभएन।
परिस्थिति बोध गर्न नसक्ने, प्रेमको गहिराइ नबुझ्ने जोकोहीले पनि उहाँले भनेझैं भन्छ भन्ने सम्झेर आफ्नो प्रेमबारे कसैलाई केही नभन्ने प्रतिज्ञा गरेँ, तर त्यो प्रतिज्ञा धेरै चाँडो टुट्यो - बोझिल हृदयलाई हल्का बनाउन मैले एउटा अन्तरंग मित्रसमक्ष मेरो समस्या भनेँ। तर, उसले पनि बुझेन मेरो समस्या र ‘ऊ'बाट टाढै रहन सल्लाह दियो।
त्यतिखेर म खाली समय टोलका साना भाइबहिनीलाई ट्युसन पढाउँथेँ। एक दिन ट्युसन पढाउँदै गर्दा उसको लोग्ने आयो र भन्यो, ‘मैले सालीलाई काठमाडौंमै पढाउने सोचेर ल्याएको छु, भाइले यसो गाइड गर्दिनुपर्‍यो।' अर्को दिन उसले आफ्नी साली मालिकालाई लिएर आयो। ऊ सात क्लासमा पढ्ने, अलिकति लजालु स्वभाव, गोरो रंग सानो उचाइकी, पातली राम्री केटी थिई। हाँस्दा उसकी दिदीको जस्तो उसको गालामा डिम्पल त पर्दैनथ्यो तर त्यो मुस्कान दिव्य थियो।
‘इङ्लिस स्पिकिङ प्राक्टिस' को बहानामा मैले मालिकालाई थुप्रो व्यक्तिगत प्रश्न गरेँ। उसले दिएका प्रत्येक उत्तर मैले बिर्सिदिएँ तर एउटा उत्तर मैले स्मृतिको कुनामा सुरक्षित राखिछाडेँ - माला। उसकी दिदीको नाम। 
यो नामका लागि त मैले प्रश्नको पेटारो खोल्नुपर्‍यो, कसरी यो नामलाई एउटा कानले सुनेर अर्को कानले उडाउन सक्थेँ! 
एक दिन मैले मालिकालाई सोधेँ, ‘तिम्री ददी घरमा दिनभर के गर्नुहुन्छ?'
‘खासै केही गर्नुहुन्न। तर अब केही दिनपछि कम्प्युर सिक्न जाँदै हुनुुहुन्छ।'
‘कहाँ?'
‘एप्टेक्टमा।'
त्यसै दिन कान्तिपथ गएर म एप्टेक्टमा भर्ना भएँ। तर कुन समयमा क्लास लिने, त्यो निर्णय गर्न सकिनँ। चिनेको कोही साथी पनि पढ्दैछन् कि भनेर हेर्ने बहानामा मालाले कुन सयममा क्लास लिँदै रहिछे भनेर भर्ना हुनेहरूको सूची हेरेँ। मालाले १२ देखि १ सम्म क्लास रोजेकी रहिछे। मैले पनि त्यही समय रोझेँ। तर मैले उसलाई पछ्याइराखेको छु भन्ने उसलाई भान नपरोस् भनेर मैले ग्राफिक्स रोजेँ, उसले विन्डोज ट्रेनिङ लिँदै थिई। 
हाम्रो क्लास सुरु भयो र झल्याक-झुलुक भेट हुन थाल्यो। म ती भेटबाटै खुसी थिएँ। 
एक दिन रिसेप्सनमा गएर मैैले उसको इमेल पत्ता लगाएँ। र, त्यसै दिन उसलाई मैले ‘भर्चुअल ग्रिटिङ कार्ड' पठाएँ। कसले पठाएको हो भनेर उसलाई संकेत दिन मैले कार्डको तल रोमन लिपिमा ...छिमेकी' लेखेको थिएँ। सायद त्यो लेख्न जरुरत थिएन किनकि मेरो इमेल आइडी नै मेरो नाममा थियो र म उसको बहिनीको शिक्षक भएकाले उसलाई मेरो नाम पक्कै थाहा थियो। 
मैले त्यसरी नै उसलाई भर्चुअल कार्ड र चुट्किलाहरू पठाइरहेँ। एकदिन मैले मेरो कम्प्युटर खोल्दा पाएँ कसैले बाँदरको स्केच गरेर पठाएको रहेछ। राम्ररी नियालेर हेर्दा मैले देखेँ - रोमन लिपिमा ‘पल्लो घरकी आइमाई' लेखिएको थियो। जवाफस्वरूप मैले गुलाफको फूल पठाएँ र तलबाट लेखेँ, ‘धन्यवाद मेरो स्केच राम्रो थियो, तर नाक अलिक मिलेन।' त्यसपछि त एउटा सिलसिला नै चल्यो च्याट अर्थात गफको, केही हाँसो, केही भावना नितान्त निजी आदानप्रदानको। हामी ‘साइबर स्पेसमा' बसेर घन्टौं गफ गर्थ्यौं। वास्तविक रूपमा हामीले आमनेसामने भएर कुरा गर्ने जमर्को कहिल्यै गरेनौं, किनकि घरमा होस् वा बाहिर, भेट हुँदा हामीलाई सधैं असजिलो लाग्थ्यो। तर हामी आफूलाई कम्प्युटर स्त्रि्कनअगाडि यतिबिघ्न उदांगो पार्थ्यौं कि हुनसक्छ त्यसै समय हामी वास्तविक रूपमै आमनेसामने भएको भए एक अर्काको हात समातेर गगनको नीलिमालाई छुन दौडने थियौं।
कम्प्युटरमा ऊसँग यसरी नै जिस्किरहेका बेला एक दिन मैले कहीँ घुम्न जानका लागि आग्रह गरेँ, उसले कुन ठाउँ जाने भनेर सोधी। मैले स्की खेल्न कुनै स्नोल्यान्ड जाऊँ भनेँ, उसले स्की खेल्न नआउने भनी । त्यसपछि मैले बोटिङको अफर गरेँ, उसले पानीसँग डर लाग्ने कुरा गरी। अनि मैले तिमी नै भन न कहाँ जाने भनेर सोधेँ, उसले इडेनको गार्डनमा जाऊँ भनी। मैले हुन्छ भन्ने जवाफ पठाएँ। त्यसपछि ऊ र म साइबर जोनमा घुम्न गयौं। राम्रा-राम्रा फूलहरूको माझ ऊ पनि फूल भएको मैले कल्पना गरेँ। त्यसपछि मैले एउटा रातो गुलाफ टिपेँ र उसलाई दिएँ। प्रत्युत्तरमा उसले मलाई चुमी। 
उसकै लागि मैले विभिन्न ठाउँबाट सुफी संगीतका वेबसाइट खोजेर उसलाई फरवार्ड गर्थें। र, आफूचाहिँ कम्प्युटर स्त्रि्कनअघि बसेर त्यही सुफी धुनमा ऊसँग भुलिरहेको कल्पना गर्थें। कतिपटक त मैले उसलाई लभ फोरमको वेबसाइट पनि फरवार्ड गरँे। एकपटक त यसरी नै कम्प्युटरमा क्लिक गर्दागर्दै साइबर म्यारिज एक्सेस हात लाग्यो। मैले तुरुन्तै उसलाई यो कुरा अवगत गराएँ। प्रतिउत्तर उसले पठाई, जो मैले कल्पना गरेको थिइनँ।
‘रियल म्यारिज त गरिसकेँ, अब अर्को पटक भर्चुअल म्यारिज पनि गरौं न,' मालाले भनी। ऊ एउटा यस्तो अस्तित्व लिएर मेराअघि आएकी थिई, जो एकदमै स्वतन्त्र थियो, समाज, घरपरिवार आदि केहीले पनि उसलाई बन्धनमा पारेको थिएन। 
उसको वर्जनाहीन स्वतन्त्रताले मलाई हौस्यायो, मैले हनिमुनमा जाने ठाउँको लिस्ट नै पठाएँ। ‘कहाँ जाने - पेरिस, ब्रसेल्स, लग्जम्बर्ग, लन्डन, न्युयोर्क?' उसले राम्रो विचार भन्ने भाव व्यक्त गरी। कहिलेकाहीँ हाम्रा कुरा एकदम ‘एक्सटि्रम' मा पुग्थे। के कुनै केटी आफ्ना छट्पटाहट यति सजिलै भन्न सक्छे?
‘फ्रिडम भनेको कसैको रोकतोकबिना बाँच्न पाउनु हो। मलाई बाँच्नु भनेको मिनिङफुल हुनुपर्छजस्तो लाग्छ। जता हेर, फ्रि सोसाइटीले मात्र प्रोग्रेस गरेका छन्। फ्यामिलीप्रति मात्र होइन सोसाइटीप्रति पनि हाम्रो योगदान हुनुपर्छ।'
म अवाक भएँ। मैले भन्नुपर्ने केही थिएन, ‘गो अन' बाहेक।
‘युथ कल्चरलाई रोकेर के हामी इरान बन्ने? मान्छेको रमाइलो गर्ने इच्छा मार्‍यौं भने उसको क्रिएटिभिटी नष्ट हुन्छ।'
‘एस।'
‘नाइट लाइफ राम्रो लाग्छ, पार्टीहरूमा जान खुब रमाइलो लाग्छ।'
‘ह्वाट अबाउट सेक्स?'
‘टिन एज सेक्स र प्रि म्यारिटल सेक्समा हामी किन अल्भि्करहेका छौं, मलाई अचम्म लाग्छ। शरीरको मालिक हामी आफैं हो, के मालिकले आफूखुसी गर्न नपाउनु? पेरेन्ट्सले हामी केटीहरूलाई प्रपर्टीका रूपमा हेरेकाले नै यति धेरै रेस्ट्रिक्सन भएको हो। हाम्रो पढाइले हामीलाई यति पनि सिकाएको छैन र हामीले एक्प्लोइटेसनबाट बच्नुपर्छ? सेक्सुअलिटी र मोरालिटीलाई सँगै राखेर हेर्नुहुन्न। सेक्सुअलिटी प्राइभेट कुरा हो, मोरालिटीले मासलाई इफेक्ट गर्छ। वेस्ट सेक्सुअली फ्रि छ तर के यसले उनीहरूलाई करप्ट गरेको छ त?'
यस्ता च्याटसँगै दिन बित्दै थिए। एक दिन हजुरआमालाई भेट्न मलाई मामाको घर पाल्पा जानुपर्‍यो। एक हप्तापछि फकर्िंदा उनीहरूले कोठा छोडेर गइसकेका रहेछन्। पछि थाहा पाएँ - घरबेटीसँग भाडाको विषयलाई लिएर भनाभन भएको रहेछ। विछोडको पीडाले मेरो मन निकै रोयो। उसले मलाई यसरी अचानक छोडेर जाली भन्ने मैले सोच्न सकेको थिइनँ र यो विछोडलाई हाम्रो सम्बन्धको अवास्तविक धरातलजस्तै अवास्तविक ठानेर उसलाई भेट्न कान्तिपथ गएँ। कम्प्युटर खोलेर इमेल चेक गरेँ। इनबक्समा मालाको चिठी रहेछ :
‘हावाझैं आइरहेका दिन, रात, महिना र वर्ष हावाझैं गैरहेका छन्। हिजो नै त आएको थियो शरद, प्रकृतिमा प्रित फैलाउन। संसारिक उल्झनलाई पन्छाउँदै श्वास लिइरहेको मलाई दृटिवत भैरहेछ - एउटा सत्य। सायद ढिलो भयो कि प्रित बुझ्न, तथापि अहिले म सत्यानुभूत गरिरहेको छु - तिमी र मबीच कहिल्यै वास्तविक प्रेम भएन किनभने वास्तविक रूपमा हामी कहीँ पनि छैनौं। नेटिजन र सिटिजनबीच धेरै फरक छ, प्रिय छिमेकी।'
.................
म ओछ्यानबाट उठेर झ्यालनेर गएँ र बाहिर हेर्न थालेँ। 
अघिल्लो दिन परेको पानीले धोइएर काठमाडौं षोडसीझंै देखिएको थियो। सडकका खाल्टाहरू ससना पोखरीमा परिणत भएका थिए। एक्कासि माला बस्ने फ्ल्याटबाट एउटा सानी केटी कौसीमा आई र सफा आकाश हेरेर केही किन्चित हाँसोको मुद्रामा यताउता हेरी, गमलामा फुलेको सयपत्री टिपी अनि त्यसलाई तलतिर फाली। त्यो पानी भरिएको खाल्टोमा खस्यो। त्यहाँ लहर उठे। सायद त्यो मेरो मन हो, लहर पछि लहर, उठिरहेका, उर्लिरहेका।




एक मच्छडको आत्मकथा


अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि भनेर हाँसेँ। नागरिक विकेन्डका साथीहरूले पनि रमाइलो माने। फुटबल हेर्न राति १२:१५ कुर्नु त छँदैछ। त्यही बेला पढ्न हुन्छ भनेर पुलिन्दा काखीमा च्यापेँ।
... 
म बागमती किनारमा जन्मेकी थिएँ। बीस वर्षअघि जन्मेकी भए, मेरो नाम 'बागमतीकुमारी' हुन्थ्यो होला। तर, अहिले जन्मेकाले मेरो नाम भयो- ढलकुमारी। म बैंसमा खुब राम्री थिएँ। आमै भन्नुहुन्थ्यो, 'ढलकुमारी, ख्याल गर्नू, मच्छडहरू कहिल्यै गतिला हुँदैनन्।' 
हुन पनि मेरा बाबा कहिल्यै गतिला थिएनन्। सधैं मात्तिएर आउँथे। लामालामा खुट्टाले आमैलाई गोद्थे। एकदिन टिल्ल भएर बाबा मध्यरात घर आएका थिए। 
'आज पनि धोकेर आयौ, होइन?' आमै कराउनुभो, 'सधैं यसरी चल्दैन।'
'एई रन्डी, नकरा।' बाबाले आमैको खुट्टा समाएर पछारे, 'दिनभरि को नाठोसित जान्छेस्? यसरी त कोही सधैं सुत्केरी हुँदैन। तेरा बाउको खा छैन।'
खुट्टा मर्किएर रन्थनिएकी आमा रातभरि भुइँमा लडिरहिन्। बिहान बाबालाई जाँडले छोडेछ। आमैको खुट्टा मर्केको थाहा पाए। 
'एई, मलाई माफ गर्दे।' आमैछेउ टुसुक्क बसेर बाबाले भने, 'के गर्नु अचेल फलफूल भन्नु न हो, केही न केही मिस्सेको हुँदोरैछ। यसो चुस्यो, लागिहाल्छ।' 
आमै निन्याउरो अनुहार लाएर बसिरहिन्। 
त्यसदिन बाबाले माफी पाए। तर, एकदिन राति भुनभुन उड्दै ग'का बाबा फेरि फर्केनन्। मच्चछडको जिन्दगी मान्छेको हत्केलाको एक 'प्याट्ट' त हो नि! 
बाबा नभएपछि, आमालाई झन् चिन्ताले समाउन थाल्यो। सन्तान जन्माउँदा-जन्माउँदा आमा लिखुरे भइसकेकी थिइन्। जन्मेका कोही पनि बाँच्दैनथे। अन्डाभित्रै मरेका हुन्थे। तातो रगत खान नपाएर आमैका गाला धस्सिँदै गएका थिए। दिनभरि अँध्यारो ढलमा लुकेर बस्थिन्। 
एकदिन आमै रगत पिउन निस्किन्। राति अबेरसम्म आइनन्। मलाई खुबै चिन्ताले समायो। मान्छेहरू अचेल के-के जाती धुप बाल्छन्, त्यै सुँघेर ढलिन् कि? म रातभर छट्पटिएँ। बिहानपख आमै आइपुगिन्। 
आमै मुसुमुसु हाँसिरहेकी थिइन्। खुट्टा लर्बरिइरहेका थिए। 
'हिजो रगत चुसेदेखि कस्तो झमझम भा'छ।' आमाले हिस्स हाँस्दै भनिन्, 'यै मोरी! मलाई फेरि बैंस आयो कि कुन्नि?' 
म चुप रहेँ। 
'म राम्री छैन त?' आमैले फननन नाचेर भनिन्।
मलाई भने डर लाग्न थाल्यो, आमैले गतिलो रगत पिइनन् कि क्या हो? मैले सोधेँ, 'कस्को रगत पिएको, आमै?' 
'कस्को भन्नु? मान्छेको!' आमैले कम्मर मर्काउँदै भनिन्, 'ठूलो घर थ्यो। असलै रगत होला भनेर पसेँ। मान्छे पनि पोटिलै थ्यो। रगत पिएपछि झमझम भो। छोरी, त्यसपछि मैले सारा पीडा बिर्सेर।'
दिनभर आमै टोलाएर बसिन्। 
त्यसपछि त लगातार तीनदिन आमा त्यसरी नाच्दै आइन्। त्यै झमझम हुने रगत पिउँथिन् क्यारे। आमाको यस्तो ताल देखेर होला, एकदिन मच्छड काका घरमा आए। मलाई सुटुक्क सुनाए, 'ढलकुमारी, अब हामी मच्छडका दिन गए। मान्छेका रगतमा के-के मिसिन थालेछन्। अब त हाम्रा चेलीबेटी मान्छेलाई टोक्यो कि उपद्रो गर्दै आइपुग्छन्। आफ्नो ख्याल राख्नू। अब भाउजुको पनि भर छैन।' 
आखिरमा काकाले भनेजस्तै भो। आमालाई रगत पिएर आएपछि टोलाउने बेथा लायो। तैपनि बल्लतल्ल रगत पिउन जान्थिन्। एकदिन आमैले रुँदै भनिन्, 'छोरी, मैले गतिलो रगत पिइनछु। अब त त्यही रगत नपिई बस्न सक्दिनँ। आफ्नो ख्याल राख्नू।'
त्यसदिन आमै र म अँगालो मारेर रोइरह्यौं। 
भोलिपल्ट आमै फेरि रगत पिउन गइन्। फर्कंदा त बहुलाजस्तै भएकी थिइन्। जे देखे पनि डरले चिच्याउँथिन्। म रातभर आमाछेउ बसेँ। आमा चिच्याउँदा-चिच्याउँदै बेहोस भइन्। मैले सारा मच्छडलाई गुहारले। 'के-के जाति रोग सर्छ' भनेर कोही आएनन्। 
अन्तिमपल्ट भएर होला, आमैलाई होस आयो। मेरो शिर सुम्सुम्याउँदै आमैले भित्र धस्सिएका आँखाले हेर्दै भनिन्, 'छोरी, मच्छडको जुनी यस्तै रैछ। नजन्मिऊँ भने पनि जन्मिनुपर्ने। जन्मेपछि मान्छेको रगत पिउनैपर्ने। अचेल मान्छेको रगत शुद्ध हुन छाड्यो। मलाई अब तिम्रो चिन्ता ला'छ। अब तिमी के पिएर बाँचौली?'
यसरी आमै अबेरसम्म बर्बराइरहिन्। 
म भोक लागेर बाहिर निस्केँ। फर्कंदा, आमाको टाउको भुइँमा लतारिएको थियो। सेतो फिँज गालाभरि लत्पिएको थियो। आमै त मरिसकिछन्। 
म एक्लै भएँ।
...
मलाई बागमतीको किनारमा बस्न मन लागेन। म काठमान्डुको बीचतिर सरँे। जहाँ पनि फोहर, जता पनि फोहर। ठूलो सुपरमार्केटको पछिल्तिर एकदम फोहर थियो - त्यहीँ डेरा बनाएँ। त्यही त हो नि, रछ्यान साइलासित मेरो भेट भएको। बसाइ सरेको पहिलो रात म सुपरमार्केटको बाहिरपट्टि चुरोट तान्दै उभिएको मान्छेलाई टोकेर फर्केकी थिएँ। 
'को हौ, रूपवती?' मच्छड साइलाले मेरो हात समाउन खोज्यो, 'साक्षात चन्द्रमा धर्तिमा झरेजस्तो।' 
'अहिले थप्पड खाएर तारा देखौला।' मैले मस्किँदै भनेँ। 
'तिम्रो थप्पड त मलाई फूलले छोएजस्तो।' 
'फूलमा काँडा पनि हुन्छ, घोच्ला नि!' 
'काँडाले घोचेपछि हृदयमा दाग लाग्छ, अर्काको हृदयमा दाग लगाएर जान पाइन्न।' 
मच्छड साइलाले मेरो हात समायो। तर, मैले थप्पड हानिनँ। हात छुटाएर दगुरेँ। उसले पछ्यायो। म त्यसै दिन प्रेममा परेँ। त्यसपछि त हामी रातभर गटरैगटर हात समाउँदै भुनभुन गीत गाउँदै उड्थ्यौं। कति मान्छेका काननेरबाट उड्थ्यौं। 'साले मच्छेड पनि कति हुन्!' मान्छे बेस्मारी कराउँथे। कति त हामीलाई प्याट्ट हानेर मार्न लखेट्थे। मच्छड साइला भन्थ्यो, 'हेर प्रिय, यौवनमा यस्ता एडभान्चर चाहिन्छ क्या!' 
ऊ कवि रैछ। रछ्यानमा जन्मेकाले उसको नाम रछ्यान साइलो भएको रैछ। ऊ पनि मजस्तै एक्लो रैछ। हामीले बिहे गर्‍यौं। म गर्भवती भएँ। मलाई मान्छेको तातो रगत चाहिने नै भयो। सुपरमार्केट डुब्दै गयो, त्यहाँ मान्छे आउनै छाडे। म रातभर पेट भर्न यताउता भौंतारिन थालेँ। 
कति घरका झ्यालमा जाली लगाइएको थियो, छिर्ने नसकिने। कुनै घरको झ्याल खुल्लै देखेर भित्र पस्न खोज्यो कि ज्यानमारा धुपको गन्धले अत्तालिएर बाहिर निस्कन्थेँ। यस्तो धुपको विज्ञापन मैले सुपरमार्केटको टिभीमा देखेकी थिएँ। त्यहाँ हाम्रो खुबै बेइज्जत गरिएको हुन्थ्यो। कसैको घरभित्र छिर्‍यो झुल टाँगेको देख्थेँ, रन्थनिँदै बाहिर निस्कन्थेँ। सधैँ रगत जुर्न गाह्रो हुन थाल्यो। 
एकपल्ट अँध्यारो सुरुङजस्तो कोठामा पसेँ। लोग्नेस्वास्नी रैछन् क्यारे! खुब झगडा गर्दैथे। कुनामा लुकेर बसेँ। 
'तिमीजस्तो नामर्दसँग बिहे गर्नु नै गल्ति थियो।' केटी कराई, 'जीवनभर म सुब्बेनी साहेब भएर बस्न सक्दिनँ।' 
केटीले म्याक्सी झट्कारी। केटो चुपै रह्यो, घोसेमुन्टो लाएर। केटो एकदमै दुब्लो थियो। गालाका हड्डी टल्किरहेका थिए। टेबुल पंखा घुमिरहेको थियो। हावा मतिर आउँदा म छेउमा टाँगेको लुगा च्याप्प समाउँथे। उडाउला भन्ने डर। 
'तिमीसँगैकाले काठमान्डुमा घर लाइसके।' केटी अझै जोडले कराई, 'मलाई अझै कहिलेसम्म राख्ने हो यस्तो नर्कमा?'
'म चोर्न जान्दिनँ।' केटोले सानै स्वरमा भन्यो, 'म पापको धनले सुनको पलङ किन्न सक्दिनँ। सुत्नु छ भने यैमा सुत्। यै हो मेरो कमाइ।'
'इस्।' केटीले लोप्पा ख्वाई, 'सुत्दिनँ म, तैं सुत्।' 
उनीहरूले अबेरसम्म झगडा गरे। मैले सुनिरहेँ। किनभने, म थाकेर लोत भइसकेकी थिएँ। अन्त उड्नै नसक्नेगरी। एकछिन पछि केटी पलङछेउ टुसुक्क बसी। ढल्की र निदाई। केटो पनि ढल्कियो। एकदुईपल्ट केटीलाई कोट्यायो। केटीले कुइनाले धकेली। एकछिन बर्बराउँदै बस्यो। अनि, बत्ती निभायो। 
म भुनुनु उड्दै केटोको पाखुरामा बसेँ। ठुँगेँ, लौ रगत नै आउँदैन। झन् ठुँगेँ, अझै रगत आएन। केटोले प्याट्ट पाखुरामा हिर्कायो। म छक्क परेँ, रगत नभएको मान्छे पनि हुन्छ र? म स्वात्त, केटीको हातको नङछेउ बसेँ। ठुँगेँ र पेटभर रगत पिएँ। केटीले हत्केला पलङमा बजारी। म भुर्र उडेँ। 
'एउटा झुल पनि किन्न नसक्ने, छिः।' मैले झ्यालबाहिर आउँदा केटीको आवाज सुनेँ। घर फर्किन अलि ढिलो भएछ। रछ्यान साइलाले कुरिरहेका थिए। 
'आज ढिला गर्‍यौ त।' उनले सोधे। 
मैले सारा कुरा सुनाएँ। केटोको ज्यानमा रगतै नभएको कुरा। उनी छक्क परेनन्। गम्भीर भए, 'अचेल त मान्छेले मान्छेको खुन तनतनी चुस्छन्। हाम्रा लागि थोपै रहँदैन।'
...
वंशजकै रोग हो क्यारे। मेरा सन्तान जन्मिनेबित्तिकै मरे। म फेरि सुत्केरी भएँ। रगत नभै भएन। एकपल्ट रातभर उडेँ। कुनै घरमा पस्न सकिनँ। ठुल्ठुला घरमा त झ्यालमै जाली थे। वरैबाट फर्कें। उड्दै पर पुगँे। एउटा फोहर खोलाको किनारमा केही झुपडी देखिए। एउटा झुपडीतिर लागेँ। भित्र पस्न गाह्रो भएन। दुब्ला मान्छेहरू लहरै सुतेका थे। एउटाको पाखुरामा बसेँ। ठुँगेँ, रगत आएन। ऊ ढलमल भएन। बानी परेको हो कि, टोकेकोमा मतलबै गरेन। अर्काको ज्यानमा ठुँगेँ, त्यहाँबाट पनि रगत आएन। अर्को झुपडीमा बसेँ। अनि, अर्कोमा। सारा झुपडीमा कसैको रगत रैनछ। मान्छेहरूले त सारा चुसिसकेछन्। म रन्थनिँदै उड्न थालेँ। सडकमा उभिरहेको मानिसलाई टोक्दा रगत भेटेँ, छाक टर्‍यो। फर्कें। 
'यत्तिका टाइम किन लायौ?' रछ्यान साइला पहिलोपल्ट झर्के। 
'मान्छेको ज्यानमा रगत भए पो!'
'साँच्चै खुन पाइनौ?' उनले शंका गरे, 'अर्कैसँग अफेयर छ भने भन, म आफ्नै बाटो लाग्छु।'
'यदि तिम्लाई शंका छ भने आफ्नो बाटो लाग।' मलाई झोक चल्यो। 
उनी राति अबेरसम्म बोलेनन्। बिहान उनी घरमा थिएनन्। मलाई आमै र बाबाको सम्झना आयो। आखिर सबै मच्छड मेरा बाबाजस्तै हुँदारैछन्, शंकालु। मलाई रुन मन लाग्यो। म सुपरमार्केटको अँध्यारो कुनामा बसेर टोलाइरहेँ। भुनुनुनु आवाज आयो। उनी फर्के कि भनेर हेरेको त अर्कै मच्छड। 
'म अघिदेखि हेरिरहेकी छु।' ती मच्छडले भनिन्, 'किन दुःखी छ्यौ, बैनी?' 
म टोलाइरहेँ। 
उनी हँसिलो अनुहारकी रैछन्। ज्यान मेरोभन्दा कति हो कति ठूलो। भनिन्, 'म हिजै आएकी हुँ नेपालगन्जबाट। तिम्रै घरछेवै बस्छु।'
मैले आफ्नो सबै कथा सुनाएँ। 
'यस्तै हो बैनी हाम्रो जिन्दगी।' उनले मेरो शिर सुम्सुम्याइन्, 'म पनि के-के न होला भनेर काठमान्डु आएँ। भोकै छु। अब नेपालगन्ज फर्कन्छु। मन छ भने उतै हिँड। त्यता त जति भने पनि खुन पाइन्छ।' 
'अहिल्यै त कसरी भनूँ।' म अन्कनाएँ। रछ्यान साइला आउलान् भन्ने आश त छ नि! 
'ल त बैनी, म अहिले लागेँ। उतै जाने विचार गर्‍यौ भने भन्नू। यो धम्बोजी कान्छीले बोली त बोली।'
धम्बोजी कान्छी भुर्र उडिन्।
त्यही साँझ भुर्र उड्दै रछ्यान साइला पनि आए। उनलाई देखेर मेरा हिक्का छुटे। म अँगालो मारेर रोएँ। उनले मसिनो आवाजमा भने, 'एई, म तँलाई छोडेर कतै जान सक्दिनँ।'
अनि, उनले अचम्मका चिज देखाए। 
'यो मास्क हो। यो लायो भने धुपले असर गर्दैन।' उनले मास्क दिए। अनि, सानो छुरा पनि दिँदै भने, 'यसले झुल काट्न मद्दत गर्छ।' 
मैले रमाउँदै लिएँ।
'ल अब जहाँ मन लाग्छ त्यहाँ जाऊ, खुन पिऊ। तिम्लाई कसैले रोक्न सक्दैन।' उनी हाँसे, 'हामी मच्छडलाई के ठान्या छन् मान्छेले?' 
...
अब मलाई खानाको समस्या रहेन। म जुन घरमा पनि पस्न सक्थेँ। सुटुक्क भेन्टिलेसनबाट भित्र पस्थेँ। धुप बालेको छ भने मास्क लगाउँथेँ, टन्टै साफ। मान्छेका पाखुरामा बस्थेँ, मास्क उघारेर ठुँग्थेँ, तनतनी रगत पिउँथेँ। झुल टाँगेको घरमा भने अलि गाह्रो हुन्थ्यो। आफू पस्ने गरी झुल छुराले काट्न करिब एक घन्टा लाग्थ्यो। फर्कने बेला छिरेको प्वाल पत्ता लगाउन नसकेर म अबेरसम्म फनफनिन्थेँ। 
'बैनी, म पनि जान्छु तिमीसँग।' एकदिन धम्बोजी कान्छीले भनिन्, 'मैले पनि पेट बोकेँ। रगत नभई भएन।'
मैले रछ्यान साइलालाई भनेँ। उनले फेरि एकजोर मास्क र छुरा ल्याइदिए। त्यसरात धम्बोजी कान्छी र म खुब रमाउँदै खितखिताउँदै मान्छेका घरघर पस्यौं। धुप देख्दा मास्क लगायौं। झुल देख्दा छुरा उदायौं। खुब रगत पियौं। 
'बैनी, काठमान्डु आउँदा हामी जाजरकोट पनि ग'का थ्यौं।' त्यही रात उसले उड्दै सुनाइएकी थिई, 'त्यहाँका मान्छेलाई टोक्नासाथ हाम्रा सारा सन्तान छेरपटी लागेर मरे।' 
म छक्क परेँ। 
'त्यहाँका मान्छेका रगत खोई कसले सिनित्तै पारेछ।' उनले भनिन्, 'त्यहाँका मान्छे त छेर्दै- वाक्दै मर्दारैछन्। काठमान्डुबाटै ग'का पत्रकारले सुनाका थे। तिनको रगत त तिनकै सर्कारले सिनित्तै पार्छ रे! होला र?' 
धम्बोजी कान्छी मेरो छेउ बसिन्। फुलेको पेट सुम्सुम्याइन्। म उदास थिएँ। त्यो देखेर उनले भनिन्, 'अब काठमान्डुतिर रगत पाइन्न। नेपालगन्जका मच्छडले पनि अरूलाई देखिसहन्नन्। तिम्लाई नेपालगन्ज जाऊँ त भनिहालेँ - तर त्यहाँ पनि काठमान्डुबाट ग'का मच्छडलाई एनजिओवाला भनेर लखेट्छन्।' 
म झन् उदास भएँ। पेटमा हुर्किरहेका सन्तानको खुब माया लाग्यो। 
'चिन्ता नगर बैनी।' मेरो रुन्चे अनुहार देखेर उनले भनिन्, 'हाम्ले नयाँ ठाउँ पत्ता ला'छौं। अब पहाडतिर गर्मी बढेर मच्छडलाई बाँच्न सजिलो भा'छ। अब त्यतै जानुपर्छ। त्यताका मान्छे न त झुल किन्न सक्छन् न त धुप।' 
'कताको पहाड, दिदी?' 
'जुम्ला-कालिकोट।' उनका आँखा ठूला भए, 'त्यता त गाडी जान थालेछन्। हाम्लाई जान सजिलो हुन्छ।'
'त्यता पनि त सर्कार होला।' मैले निरासा देखाएँ, 'त्यसैले रगत चुस्छ नि!' 
'होइन बैनी, त्यताका गाउँ त कहाँ हो कहाँ! सर्कारै पुग्न सक्दैन रे!' धम्बोजी कान्छी हाँसिन्। त्यता सर्कार रेडियोबाट त पुग्ने हो, अब भन त रेडियोको सर्कारले कसरी चुस्छ रगत?' 
ए, हामी मच्छडका लागि कहीँ त शुद्ध रगत रैछ। मलाई आफ्ना सन्तानको भविष्य त्यति अन्धकार लागेन। 
'काठमान्डुमा त हाम्लाई नै असर गर्ने फोहर पनि बढ्या छ।' मैले भनेँ, 'दुईचार दिनमै हिँड्नुपर्छ।'
...
'साँच्चै पहाडतिरै जाने र?' मच्छड साइला झस्किए।
मैले धम्बोजी कान्छीले भनेका कुरा सुनाएँ। उनले एकछिन सोच्दै भने, 'जाम न त। उता चित्त बुझेनछ भने फेरि फकर्ौंला।' 
कुरा मिल्यो। हामी पर्सि नै पहाडतिर जाने भयौं। विधिको विधान नै यस्तै छ। त्यही दिन मैले अन्डा पारेँ। त्यसदिन म असाध्यै खुसी थिएँ। यौटा त यौटा बाँच्ला नि, अब हाम्रो वंश चल्छ भनेर। राति धम्बोजी कान्छी र म रमाउँदै रगत खोज्न ठूलो बंगलातिर लाग्यौं। बाहिर पुलिसले पहरा दिइरहेको थियो। मच्छड हुनु फाइदै रैछ, काननेरबाट उड्दा पनि पुलिसले बन्दुक ताकेन। बंगलाका धेरै ढोका बन्द थिए। यौटा ढोकाको चेपबाट भने बत्तीको मधुरो उज्यालो बाहिर आइरहेको थियो। हामी त्यही चेपबाट भित्र पस्यौं। भित्र सोफामा चारजना राता गाला भएका भुँडे बसेका थिए। सबैका हातमा गिलास थिए। हामी सोफाको चेपमा लुक्यौं। 
'यस्पालि हामी सत्तामा आएनौं भने त गाह्रो हुन्छ।' एउटाले भन्यो, 'धेरैसँग धेरै चिज लिइसकेका छौं, फिर्ता दिनु परेन? टाट भएपछि केको राजनीति?'
'डोन्ट वरी।' अर्कोले चुस्की लगाउँदै भन्यो, 'यस्पालि गोलपोस्ट खाली छ, जति गोल गरे'नि हुन्च। कुम्भकर्णझैं निदाउनुस्। उठ्दा सारा देश तपाईंकै हत्केलामा। नरिवलझैं जति उफार्नुस्, उफार्नुस्। हाहाहा।' 
'निदाकै त हो नि!' पहिलो हाँस्यो, 'भोक लागेर उठेको क्या। पेट भरिएपछि टन्न निदाउनुपर्छ।'
मेरो ठ्याक्कै आँखाअगाडिको भुँडे मौन थियो। अरूको हाँसोमा हाँसो मिलाएन। चुरोटको ठुटो भने एस्ट्रेमा बेस्मारी निमोठ्यो। र, मोटो आवाजमा बर्बरायो, 'अब आप लोग जो चाहते है किजिएगा, केक का एक हिस्सा तो अपने प्लेट मे आएगा ही।'
'द्याट्स कुल।' चौथो आवाज मात्र सुनँे। अबेरपछि सबै गए। एउटामात्र बाँकी रह्यो। बंगला मालिक हुनुपर्छ। उसले गिलास रित्यायो। अर्को कोठातिर लाग्यो। दुब्लो बुढो आयो र टेबुल सफा गर्न थाल्यो। यो बुढोसित पनि के रगत होला र? हामीले भुँडेलाई पछ्यायौं। 
ऊ फराकिलो पलङमाथि लतारिएको झुलको चेप उघार्दै भित्र पस्यो। पलङको कुनामा मोटी महिला पनि थिइन्। उसले महिलाको कानमा भन्यो, 'सुन्यौ? कुरा मिल्यो।'
उत्तर आएन। 
एकैछिनमा दुवै निदाए। भोकले हामी रन्थनिएका थियौं। हतारहतार झुल काट्न थाल्यौं। अबेरपछि प्वाल पर्‍यो। पहिला म भित्र पसेँ, अनि धम्बोजी कान्छी। हामी भुँडेलाई ठुँग्न थाल्यौं। रगत त कति हो कति। तनतनी पिउन थाल्यौं। 
'दिदी, कस्तो अचम्म! कति धेरै रगत हो?' मैले धम्बोजी कान्छीको कानमा भनेँ, 'मेरो जीवनकालभरि एउटै मान्छेमा यति धेरै रगत देखेकी थिइनँ।' 
'यै त होला नि, सारा मान्छेको रगत पिउने मान्छे।' उनले ओठ लेप्राइन्। हाम्रो भुनभुन र टोकाइले होला, भुँडे ब्युँझियो। पाखुरा सुमसुम्यायो। हामी डराउँदै झुलको कुनामा टाँसियौं। 
'साले मच्छेड।' भुँडे करायो, 'तीस हजारको झुल पनि काम लागेन। थुइक्क!' 
उसका पाउरोटीजस्ता पुक्क परेका हत्केला हामीतिर बढे। म प्वालबाट फुत्त बाहिर निस्किएँ। धम्बोजी कान्छी अल्मलिइन्। आत्तिँदै यताउता उडिन्। एकैछिनमा उनी मोटा हत्केलाको बीचमा थिइन्। प्याट्ट आवाज आयो। मृत धम्बोजी कान्छी ताराझैं भुइँतिर खसिन्। 
म आफ्ना आँसुमा रुझ्दै फर्किएँ। 
रछ्यान साइलालाई सबै कुरा सुनाएँ। उनी गम्भीर भए। मच्छडको जिन्दगी - अघिल्लो रात शोक थियो, अहिले बिहान हर्षोल्लास छायो। किनभने हाम्रो घरमा छोरी आई। सुपरमार्केटमा जन्मेकाले उसको नाम 'सुप्रिमा' राख्यौं। 
'अब हाम्रो घर पुरा भो।' मध्याह्नतिर रछ्यान साइलाले भने, 'यता बस्यो भने छोरीको ज्यानलाई पनि खतरा हुन्छ। भोलि नै पहाडतिर लागौं।'
सामान त कति नै थिए र, एकैछिनमा गुन्टा बने। साँझ पर्दै गो। मलाई भोक लाग्न थाल्यो। 
'कता जान्छ्यौ?' रछ्यान साइला डराए, 'हिजोको ठाउँतिर नजाऊ है!'
'नजिकै जान्छु।' मैले भनेँ। तर म त्यही भुँडेलाई ठुँग्न चाहन्छु। म उसलाई धेरै असर गर्न नसकूँला तर धम्बोजी कान्छीको आत्माले शान्ति त पाउला। 
म बदला लिन चाहन्छु।
...
पन्ना सकिए। अन्तिम पन्नासँगै एउटा सानो चिट पनि खापिएको थियो। मैले चिट पल्टाएँ - 
सर,
त्यसपछि आमा फर्किनुभएन। हामीले धेरै कुर्‍यौं। आमाकै सुर्ताले बाबा पनि बित्नुभो। म काठमान्डुमै छु र एक्ली छु। रगत पिउन नपाएर सधैं बिरामी पर्छु। कहिले मर्छु, थाहा छैन। हामी मच्छडको त के कुरा भो र! नालीमै जन्मिन्छौं, नालीमै मर्छौं। हाम्रो नियति नै यही हो। हामी नहुनु तपाईंहरूलाई आनन्द नै होला। तर, हामी नभए पनि मच्छडहरू कहिल्यै सकिने छैनन्। किनभने अब त मान्छेहरू नै ठुल्ठुला मच्छड हुन थालेका छन्। 
मान्छेकी भए पनि, मच्छडकी भए पनि आमा त आमा नै हुन् नि, हैन र? मलाई मेरी आमाको खुब माया लाग्छ। मेरी आमाको कथा कहिल्यै गुमनाम नहोस्! 

games online