खाना महोत्सव तथा माघ सक्रान्ति मेलाको आयोजना


म्याग्दी पुष ३० । पर्यटनवर्षको औपचारिक शुरुआतसंगै म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समिति म्याग्दीले दोश्रो सडक खाना महोत्सव तथा माघ सक्रान्ति मेलाको आयोजना गरेको छ । पर्यटनका लागि संगसंगै भन्ने नाराका साथ देशव्यापी रुपमा शुरु भएको पर्यटनवर्षको औपचारिक शुरुआत महोत्सवबाट गर्ने योजना ल्याएको म्याग्दी उद्योग वाणिज्य संघले महोत्सवले यो वर्षभरि म्याग्दी जिल्लामा पर्यटकका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा लिएको छ ।
कला र संस्कृतिको संरक्षण गरौं आन्तरिक पर्यटन प्रवर्धन गरौं पर्यटन वर्ष २०११ लाई सफल पारौं भन्ने मुल नाराका साथ शुरु भएको खाना महोत्सव आउँदो माघ २ गतेसम्म साचालन हुने आयोजकले बताएको छ ।
महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले पर्यटन नै नेपालको प्रमुख आम्दानीको श्रोत भएकाले पर्यटन वर्ष २०११ मा नीजि र सरकारी निकायको सहकार्यमा पर्यटकीय पूर्वाधारको विकास र विस्तार गर्नुपर्ने बताए ।
धौलागिरिमा प्रसस्तै पर्यटकीय सम्भावनाहरु रहेको उल्लेख गर्दै उनले यहाँका सम्भावनाहरुको खोजी गरि प्रचारप्रचार गर्नसकेमा मुलुकको अर्थतन्त्रमा राम्रो सुधार आउने बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महाँसंघका केन्द्रीय सदस्य प्रमोदकुमार श्रेष्ठले पर्यटन विकासमा नीजि क्षेत्रले गरेको प्रयासलाई सरकारले सहयोग मात्रै गरेमा पनि मुलुकको अर्थतन्त्रमा सुधार आउनसक्ने बताए ।
महोत्सवको आकर्षणका रुपमा म्याग्दीका बिभिन्न गाउँमा पाइने कोदाको ढिँडो मकैको आटो सिस्नाको दाल गुन्द्रुकको अचार टोड्केको मुला लगायतका परिकारहरु रहेको आयोजकले जानकारी दिएको छ ।

No comments:

Post a Comment

games online