म्याग्दीका चार गाविसमा विद्यालय स्थापना हुन सकेको छैन

म्याग्दी पुष ३० । सरकारले सन २०१५ सम्ममा निरक्षरता उन्मुलन गर्ने बताइरहँदा म्याग्दीका चार गाविसमा भने अहिलेसम्म माध्यमिक तहको विद्यालय स्थापना हुन सकेको छैन । जिल्ला शिक्षा कार्यालयको एक तथ्याङ्क अनुसार जिल्लाका कुइनेमंगले निस्कोट पात्लेखेत र दग्नाम गाविसमा अहिलेसम्म माध्यमिक तहको विद्यालय स्थापना हुन सकेको छैन ।
कार्यालयले बिहिबार आयोजना गरेको आर्थीक वर्ष २०६७÷०६८ को वार्षिक कार्यक्रम र बजेट सम्वन्धि सरोकारवालाका लागि प्रवोधिकरण कार्यक्रममा जिल्लाका चार गाविसमा माध्यमिक विद्यालय स्थापना हुन नसक्दा स्थानीय विद्यार्थीहरुलाई समस्या परेकोमा सरोकारवाला निकायले चिन्ता समेत व्यक्त गरे ।
माध्यमिक तहको पढाई सन्चालन हुन नसकेका गाविसहरुमध्ये कुइनेमंगलेका विद्यार्थी चिमखोला र पाखापानीमा निस्कोटका विद्यार्थी बिम पात्लेखेतका विद्यार्थी पाखापानी लगायतका विद्यालयमा घण्टौं लगाएर जानुपर्ने समस्या रहेको सम्वन्धित विद्यालयका शिक्षकहरुले बताएका थिए ।
गाउँमा माध्यमिक तहको पढाई नहुँदा दैनिक पाँच छ घण्टाको पैदल यात्रा गरेर विद्यार्थीहरु पाखापानी तथा चिमखोलामा रहेका विद्यालयहरुमा जानुपर्ने बाध्यता रहेको कुइने निमाबि कुइनेमंगलेका प्रधानअध्यापक गोबिन्द पौडेलले बताए ।
गाउँमा केहि सम्पन्न परिवारका वालवालिकाहरु अध्ययनकै लागि सदरमुकाम तथा छिमेकी गाविसमा कोठा भाडामा लिएर पढ्दैआइरहेको भएपनि सामान्य तथा गरिव परिवारका वालवालिकाहरुको पढाई भने आठ कक्षाबाटै टुङ्गिनेगरेको ऋतुङ निमाविका प्रधानअध्यापक रेशबहादुर बिकले बताए ।
जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले पछिल्लो समय गाउँ विकासका लागि आउने अधिकांश बजेट सडक निर्माणका लागि खर्चिने गरेकोले गाउँहरु शैक्षिक क्षेत्रमा पछाडी परेको बताए ।
पछिल्लो समय सरकारले शैक्षिक क्षेत्रमा अधिकतम लगानी गर्ने योजना ल्याएको भएपनि गाउँमा शिक्षाप्रतिको चेतना नभएका कारण भएका निमाविहरुलाई माविमा स्तरोन्नती गर्न समस्या परिरहेको भन्दै जिशिअ पुरीले आउँदो शैक्षिक सत्रमा चारै गाविसमा माध्यमिक तहको पढाई साचालन गर्न अनुरोध गरिने बताए 

No comments:

Post a Comment

games online