बागलुङलाई पर्यटन वर्षले छोएन


बागलुङ माघ १ । शुक्रवार मुलुकभर पर्यटन वर्ष २०११ का अवसरमा विभिन्न कार्यक्रम र समारोह भएका छन् । जताततै समारोहको झकिझकाउले मानौं मुलुक नै पर्यटन वर्षमय बनेको छ । दश लाख पर्यटक नेपाल भित्र्याउने लक्ष सहित प्रारम्भ गरिएको पर्यटन वर्ष २०११ महोत्सवको शुभारम्भ राजधानीको दशरथ रंगशालामा राष्ट्रपति डा रामवरण यादवले एक भव्य समारोहका वीच गर्नु भएको छ ।
धौलागिरी अन्चलको मुस्ताङमा कट्कटाउदो चीसोले पर्यटन वर्षलाई अवरोध पुराएन । मुस्ताङ जिल्लामा आएका पर्यटकहरुको मुस्ताङवासीले भव्य स्वागत गरेका छन् । जिविसको आतिथ्यमा जोमसोम आएका पर्यटकहरुलाई भव्य रात्रिभोजको आयोजना गरिएको छ ।
धेरै मुस्तङवासी अत्याधिक चिसो छल्न अन्यत्र गएका छन् । होटलहरु त्यति धेरैमात्रामा सन्चालित छैनन् तैपनि त्यहां पुग्ने पर्यटकहरुलाई रत्तिभर असुविधाको आभास मिलेको छैन ।
म्याग्दीको सदरमुकाममा त एक लाख पर्यटक भित्र्याउने लक्षका साथ सडक खाना महोत्सव शुक्रवार नै सुरु भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुको लागी विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।
उता पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा शुक्रवार पर्यटन वर्ष २०११ को स्वागतमा कार र मोटरसाईकल रेली सम्पन्न भएको छ । विभिन्न संघसंस्था समाजसेवी कर्मचारी सर्वसाधारण सबैको सहभागिता रहेको रेली पर्वत जिल्लाका सीमाना कास्कीको नयांपुलस्थित धौलागिरी व्दारसम्म पुगेर रेली फर्किएको छ ।
पर्यटन वर्षको अवसर पारेर पर्वतको पन्चासे, दुर्लुङ लगायत विभिन्न गाविसहरुमा स्थानीयरुपमा पर्यटकीय महोत्सवहरु भैरहेका छन् ।
तर धौलागिरी अन्चलको सदरमुकाम बागलुङ बजारमा भने पर्यटन वर्ष २०११ लाई धुईंपत्ताल लगाएर खोज्दापनि भेट्टाउन सकिएन । मुलुकभर पर्यटन वर्षको चर्चा भएको दिन शुक्रवार बागलुङलाई पर्यटन वर्षले छोएन । दैनिकी बाहेक सडकहरु सुनसान नै रहे । महोत्सवका ठूलाठूला कुरागर्ने उद्योग वाणिज्य संघ कुंभकर्ण बन्यो । डलर खेती गर्ने गैससहरु लुके । सरोकारवालाहरु कानमा तेलहाली पार तापेर दिन काटे । प्रशासन बस र जीपको समस्यामा बल्झियो । समस्या समाधान भन्दा पर्यटन वर्षलाई महत्वपूर्ण ठानेन प्रशासनले । होटल व्यवसायीहरुलाई पर्यटन वर्षको महत्वको वोध छैन ।स्रोत:धुलाश्री 

No comments:

Post a Comment

games online